एक दिन बिहान अफिसको दाईले फोन गरेर भन्नु भयो “ भाई अचानक हामी कर्णाली जाने काम पर्यो , तिमी तयारी गर्दै गर म एकछिनमा तिमीलाई लिन आउछु ।“
कर्णाली मलाई निकै जान मन भएको ठाँउ हो । अनि म बहाना खोजी रहेको थिए कर्णाली जानको लागी । लाग्यो त्यो दिन मेरो सपना पुरा हुदैछ ।
एक घण्टाको आसपासमा त्यो दाई घरमै आउनु भयो । तर बाईकमा । माघ महिनाको कपकपाउदो जाडो बाईकमा जाने सुनेरै मन कस्तो कस्तो भयो । तर जानु नै थियो र बिकल्प केही थिएन ।
लगभग बिहानको दश बजे भैरहवाबाट हाम्रो यात्र सुरु भयो । सधै जाडोमा सितलहरले छोप्ने 'भैरहवामा' घाम नलागेको एक हप्ता भन्दा धेरै भैसकेको थियो । त्यो दिन पनि घाम लाग्ने सुरसार नै थिएन । र मलाई थाहा थियो दाङको केही भाग बाहेक सबै ठाँउमा हामी यस्तै सितलहरसंग लड्दै जानु पर्ने थियो ।
लगातार तिन घण्टाको यात्रा पछी । हामी कपिलवस्तुको कुनै अपरिचित ठाँउमा पुगेर रोकियौ ।
हामी एउटा चिया पसलमा पुग्यौ । चिया संगै गोजीबाट एउटा चुरोट निकालेर धुवाँको सर्को र चियाको चुस्की संगै लिएँ । समय त मस्तै घाम लाग्न पर्ने हो तर लागेको थिएन । बाटो पारी के छ भन्ने पनि थाहा नहुने गरी बाक्लो तुवालो लागेको थियो ।
हामी त्यहाँबाट हिड्ने तरखरमा थियौँ । बाईकमा चाबी राखेर मैले नै स्टार्ट गर्न लागेको थिए । कुहीरो भित्र केहि हल्ला सुनियो । र केही फुटेको वा फुटाएको जस्तो आवाज र मान्छेहरु चिच्चाइरहेको आवाज सबै संगै आएको थियो । यो सबै कुराबाट प्रश्ट अनुमान लगाउन सकिनथ्यो त्यहाँ कुनै हुलदंगा हुन गईरहेको छ ।
हुन पनि हो रहिछ । हामी भएको ठाँउबाट पारी पसलहरु भकाभक बन्द हुन लागे । अचानक एक हुल सुरक्षाकर्मी पनि गाडी र हतियर सहित आइपुगे । के भएको थियो , हुदै थियो मैले केही भ्याउ पाउन सकिरहेको थिईन । छेउमा संगै गएको दाईको अनुहारमा हेरेँ । म भन्दा पनि धेरै तनावमा उनी थिए मैले हेर्दा । र साहेद उनी भन्दा धेरै तनावमा म थिए होला उनले हेर्दा ।
हेर्दा हेर्दै दंगा ठुलै नै हुँदै गयो । बाँकी रहेका पसलहरु फुट्दै थिए । मान्छेहरु बाटोमा आगो बाल्दै थिए । कोही लाठी लिएर बाटोमा थिए । कोही घरेलु हतियार सङ्गै बाटोमा थिए । हामी एउटा आतंकको माहोलको बिचमा थियौ । आँखा अगाडी दंगाको दृश्य थियो । र आँखा झिम्काउँदा कतिबेला बिदेशमा भएको दाईको अनुवार आउँथ्यो । कतिबेला दुई बर्षको तोते बोल्ने भतिजाको । अनी कतिबेला आउँथ्यो आमा र भाउजुको । यसको मतलब मलाई मृतुको भयले छोईसकेको थियो ।
भएको के हो थाहा थिएन । तर पनि घाँटीमा भएको ओशोको फोटो भएको माला भित्र राखे । किनभने मलाई थाहा थियो त्यो मुश्लिम बस्ति भएको ठाउँ थियो । र अली बर्ष पहिले चनौटामा हिन्दु मुस्लिमको दंगामा कतिले बास नै गुमाएका थिए त कतिले सास नै गुमाएका थिए र कत्तिले आफ्ना आफन्तहरु गुमाएका थिए । यो ठाउँ पनि चनौटा आसपासमा नै थियो ।
अली समय पहिले हामीले चिया पिएको पसलका पसले हाम्रो नजिक आएर बाईक उनको भित्र राखेर हामी पनि त्यहिँ भित्रै बस्न भने । अनि हामीले उनले भनेको मान्न केही बेर लागेन र बस्यौँ पनि । सुरक्षाको त्यो भन्दा ठुलो अनुभुती मैले मेरो जिवनमा पहिला कहिल्यै पनि गरेको थिईन ।
मैले तिनै पसले दाईलाई सोधेँ 'भएको के रैछ' भनेर !
उनले भनेपछी थाहा भयो ‘एउटा हिन्दु पहाडिया केटा, जो त्यही सानो पसल गरेर बस्थ्यो उसले कुनै मुस्लिम केटीलाई भगाएर बिहे गरेछ । अनी दंगा सुरु भएको रहेछ । मुस्ल्लिमहरुले हिन्दुलाई काट्छु र हिन्दुहरुले मुस्लिमलाई काट्छु भन्दै हिडेका रैचन् । त्यती मात्र होईन मधेसीले पहाडियालाई र पहाडियाले मधेसीलाई काट्छु भनेर पनि हिडेका रैचन् ।
डरले सिमा नागिसकेको थियो। त्यसमाथी हामी एक त त्यो ठाँउको नै थिएनौँ । अर्को तर्फ हामी हेर्दा पहाडिया जस्तो थियौँ ।
तर पसलवालाले हामीलाई मान्छे मात्र देख्यो होला। सायद, उसलाई उ पनि मान्छे हो भन्ने याद भयो होला । त्यसैले उसले हामीमा र आफुमा केही भेद देखेन ।
***********************************************************
पसल भित्रबाट हामीले बाहिरको दृश्य अवलोकन गर्न सक्थ्यौँ । तर लुकेर मात्र । मैले हेर्दै थिएँ, त्यहाँ रोकेर राखेको ट्रक र बसहरुमा पनि आगो लगाउदै थिए एक हुलहरु ।
कोही सडकको बिच भागमा गएर चिच्चाएरै केही भन्दै थिए । कोलाहल थियो जताततै । जे सुनिन्थ्यो र जे देखिन्थ्यो सबै त्रशित थियो । लाग्यो हामी पनि त्यहाँ बसेर 'काल' लाइ कुर्दै छौँ ।
आमाले हिड्ने बेलामा “राम्रो संग जानु फोन गर्दै गर्नु “भनेको कुरा कानमा फेरी बज्यो ।
सानो भतिजाले हिड्ने बेलामा तोते बोलीमा "आउदा मलाई दुइता देलीमिल्क ल्याइदिनु हच्" भनेको याद आयो ।
दाईले हिजो फोनमा कुरा गर्दै गर्दा "घरको ख्याल गर्नु है समय खतरा छ" भनेको याद आयो ।
भाउजुको हसिलो अनुवारले कपडा प्याक गर्दा "जाडो निकै छ ख्याल गर्नुहोला" भनेर बाक्लो बाक्लो कपडा प्याक गर्दिएको याद आयो ।
सबैको यादले आँखा भरिएर रसायो । लाग्यो अब म त्यो बोलीहरु कहिल्यै सुन्न पाउँदिन ।
त्यही समयमा फेरी बाटोतिरबाट ठुलो आवाज आयो । हेरेँ अनी देखेँ । एउटा एम्बुलेन्स रोकेको थियो । र बन्दकर्ताले त्यसबाट सबैलाई निकाल्दै गर्दा एक जना अचेत भएको बृद्धलाई पनि निकाले । सायद उनी 'बिरामी' हुनुपर्छ ।
उसका आफन्त होलान् उनीहरुसंग बिन्ति बिसाउँदै थिए। तर उनीहरुले कसैको पनि कुरा सुनेनन् र बिरामीलाई बोकेर कतै अन्तै लगेर गए । लैजाँदै गर्दा एकछिन त देखेँ अनि फेरी कुईरोले छेक्यो खै अनि कता लगे कुन्नि थाहा नै भएन ।
मनमा अनेकौँ सोचहरु आए । आखिरमा नेपाली-नेपाली होईन र ? फेरी किन यस्तो ? किन हामी एक अर्कालाई मार्न र मर्न लागिपरेका छौ ? फेरी यो लडाईको फाइदा कसलाई ? मेरो सोच एउटै थियो "लडाईमा हार होस् या जित जतिजा एउटै हो ‘घाटा’ " । अनि यो लडाई के प्राप्तिको लागी ? हुनु भैसक्छ तर मान्छे त्यसलाई नै केन्द्र बनाएर किन बिनासको बाटो रोज्दछन् ?
बिचरा ति बिरामी बृद्ध ! उनले उपचार पाउन पर्ने उनको अधिकार होईन र ? अनी फेरी अधिकार, धर्म र जातको नामको यो लडाई किन र के को लागी ?
यस्तै सोचमा बग्दा बग्दै मेरो सातो गयो , जब कसैले हामी भएको ठाउँको ढोका ढकढकायो । डराई डराई ढोका खोल्दा थाहा भयो केही शुरक्षाकर्मीहरु रहेछन् । हामी त्यहाँ थुनिएपछि त्यही चिया पसले दाईले फोन गरेर बोलाएका रहेछन् ।
उनीहरुले हामीलाई रुपन्देहीको मुर्गिया भन्ने ठाउँ जुन त्यहाँबाट एक घण्टाको दुरीमा पर्छ त्यँहा सम्म स्कटिङ गरेर लैजाने भए ।
खुसीको सिमा थिएन आफु बाँच्न पाएकोमा । घर परिवारलाई फेरी भेट्न पाएकोमा ।
हामी त्यहाँबाट हिड्दा करिब दिउँसको चार बजेको हुँदो हो । जाडो त उस्तै थियो । कुईरो र सितलहरले यतीबेला सम्म पनि छाडेको थिएन ।
हामी त्यहाँबाट निस्किनु अगाडी त्यो चिया पसलले र उनका परिवारलाई धेरै धन्यवाद दियौँ । उनका एकदुई बच्चा पनि थिए तर कति थिए मैले ख्याल नै गरिन । सोध्न र सोच्नलाई दिमाख सहि ठाँउमा भएको भए पो सोचिन्थो होला । लाग्थ्यो दिमाखमा आँफू बाहेक अरु केही थिएन ।
त्यहाँबाट हिडेको सवा एक घण्टामा हामी 'मुर्गिया' आईपुग्यौँ । यहाँको जन जिवन शान्त थियो । अझ भनौँ निकै शान्त । सुरक्षाकर्मीलाई धन्यवाद दिएर हामी बुटवल तर्फको बाटो लाग्यौँ ।
बुटवल आउदा बेलुकी भैसकेको थियो । पसल र घरहरुमा बत्ति बलिरहेको थिए । एकमनले सोचेँ बुटवल रोकिएर ट्रफिक चोकको ठेलामा कफी पिएर फ्रेस भएर जाउँ । तर आतेकिएको मन चाँडो घर पुगेर भतिजालई काखमा च्यापेर धित मर्नेगरी रुन पनि मन थियो । भतिजाको प्रेमले नै मलाई तान्यो ।
अचम्म के थियो भने अफिसका दाई र म एउटै बाइकमा थियौँ । तर, हामी एक अर्का सङ्ग एक शब्द पनि बोलिरहेका थिएनौँ । दुबै जना मौन थियौँ । हुन त बोल्ने पनि के ? जे दृश्य देखियो र जे भोगियो दुवैले सङ्गै भोगियो । जति बोल्न थियो हामी आफै सङ्ग मनमनै बोलिसकेका थियौँ ।
****************************************************
रातिको लगभग आठ बजे घर पुगेँ । भित्र छिर्दा बित्तिकै केही नबोली भतिजालाई काख च्पाप्दै गर्दा बर-बर आँशुको धाराहरु आँफै बग्न थाले । बिचरा दुई बर्षको अबोध बालक उसलाई के थाहा म कत्रो संकट कटाएर आएँ भन्ने !! उ चाहिँ रुँदै “मेलो देली मिल्क खोई“ भन्दै थियो ।
मम्मि र भाउजु आउनु भयो कोठामा र दुवैलाई अंगालो हालेर दिनभरको कहानी सुनाएँ ।
बन्दको खबर रेडियो टेलिभीजनका समाचारमा पहिले नै भनी सकेको रहेछ । अनि मलाई पटक-पटक फोन गर्दा फोन नलागेर आमा र भाउजुको सात्तो नै गएको रहेछ । फोन नलागेको कुरा सुन्दा अचम्म लाग्यो र गोजी छामेँ । मैले त मेरो मोबाईल पनि हराइसकेको रहेछु । तर, कत्ति बेला हराएँ भन्ने चैँ पत्तो नै भएन । तर मोबाइल हराएकोमा दु:ख भने कत्ति पनि लागेन । पहिले नै थाहा पाएको भए पनि साहेद सोच्थेँ होला 'बाँचियो भने मोबाईल त जति पनि किन्न सकिन्छ' । बाँचेको थिएँ मलाइ त्यही नै ठुलो कुरा थियो ।
एकछिनमा फ्रेस भएर टि.भी खोलेँ । समाचार लगाएँ । हातको रिमोट आँफै खस्यो । होस नै उड्यो । समय पनि रोकियो कि झैँ लाग्यो कतै केसैको आवाज पनि सुनिन । अन्धकार बाहेक केही देखीन । किनभने टिभीमा त्यही अपरिचित ठाँउ देखाउँदै थियो । र त्यहाँ जलेका मान्छेहरु अनि घर । जलेका मान्छेहरु र घर अरु कुनै नभई त्यही चियापसले दाईको थियो । संगै उनको सबै बच्चा र परिवारलाई पनि जलाइएको रहेछ । जलाउनको पछाडी बाहाना एउटै थियो "मधेशी भएर पहाडियालाई दिनभर बचाएर पुलिसको जिम्मा लगाएको" ।
एकछिनमा जसोतसो मन बुझाउन खोजेँ । त्यो रात मलाई कत्ति पनि निद्रा लागेन । लागेको थियो त मात्र बाहिर कुईरो । र आकाश पुरै कालो । सितलहर तराईमा मात्र थियो । तर कालो कुइरो देशभर लग्न सुरु भयो । घाम लाग्दा पनि त्यो कुइरो लागिनै रह्यो । र नलाग्दा पनि लागिनै रह्यो ।
No comments:
Post a Comment